Sunday, April 13, 2014

मेरो घरको ढिक्की

गाउँ भरीमा हाम्रो घरमा मात्तै ढिक्की छ। सानु सफा ढिक्कीघर। ढिक्की र जाँतो  कैले देखी छ भन्ने चै मलाई था छैन तर मैले देख्दा देखी छ । हजुरामाले बिशेष स्याहार गर्नु हुन्छ, बेला बेला लिप्न, बढार्न लगाइरनु हुन्छ। छुट्टै कुचो र नाङ्लो  छ। तेइ ढिक्कीमा कुटेको पिठोको सेलरोटी काठमाडौं सम्म आउछ बट्टामा र कैलेकाइ घर जादा पनि। 
      सेलरोटी आफुलाई पकाउन आउँदैन जस्तो आमाले पकाउनु  हुन्छ। न त्यस्तो स्वाद हुन्छ, न तेती राम्रो, मिलेको र फुलेको हुन्छ। घर पुगेपछि आमालाई सोध्ने मुख्य कुरा मध्धे एउटा चै रोटी पकाउने हो कि होइन भन्ने नै हुन्छ। आमाको स्कुल छुट्टी छ भनेत झन सजिलो । सेलरोटि भन्दा मलाई ढिक्की कुट्ने, कुटेको हेर्ने, पिठो छिन्किने लगयतका काममा धेरै रमाइलो लाग्छ। सानुमा केटाकेटीले ढिक्की चलाऊनु हुँदैन भनेर छेउछाउ ढिम्किन दिनुहुन्न थ्यो। अैले ठुला भैसक्दा नि पार लगाउदैनौ भनेर दिनुहुन्न। पाछिल्लो पटक घर जादा चै म ढिक्की कुट्न भन्दा फोटो खिच्नमा मग्न भयें।